images

यूएसएआईडीकी प्रमुख सामन्था पावर नेपालमा

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग यूएसएआईडी की प्रमुख सामन्था पावर नेपाल आइपुगेकी छन् ।

पावर दुईदिने भ्रमणका लागि आज बिहान नेपाल आइपुगेको नेपालस्थिति अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुलयान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आएकी हुन ।

सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट भएको यही उच्च तहको भ्रमण हो । राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत पावर अमेरिकाको क्याबिनेट स्तरकी उच्च अधिकारी हुन ।

उनी भोलि फर्किने कार्यक्रम रहेको छ । पावरको यस भ्रमणलाई महत्वका साथ हेरिएको छ । पावरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

पावर नेपाल बस्दा नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेट गरी नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका लागि गर्न सकिने प्रयास र उपलब्धिहरूबारे छलफल गरिने बताइएको छ ।