images

प्रहरीले पक्राउ गर्दैमा सांसद पद निलम्बन गर्नु संविधानविपरीत हो : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सांसदहरूलाई प्रहरीले पक्राउ गर्दैमा निलम्बन गर्न नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा प्रमुख सचेतक शाहीले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने बताएका हुन् । प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परे उसको मतदान गर्ने अधिकार हनन् हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने बताए ।

जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउने गरी नियमावलीको व्यवस्था गर्ने कुरामा आफू सहमत हुन नसक्ने उनको भनाइ थियो । प्रमुख सचेतक शाहीले अदालतले दोषी प्रमाणित गरेपछि मात्रै सांसद पद निलम्बन हुने व्यवस्था गर्नु संविधान र कानुनको दृष्टिले पनि उपयुक्त हुने बताए ।

‘जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउन पाइँदैन । यो गर्नै हुँदैन । पक्राउ पर्ने बित्तिकै सबै अधिकार खोसिने हो भने जनताबाट अनुमोदित भएको के महत्व भयो ? अदालतले दोषी ठहर गरेपछि सांसद पद निलम्बन हुने कुरा ठीक छ । तर, पक्राउ पर्दैमा निलम्बन गर्नु हुन्न, उनले भने ।

प्रमुख सचेतक शाहीले अनुसन्धानका लागि पक्राउ गर्दैमा सांसद पद निलम्बनमा पर्ने कुरा संविधानविपरीत हुने बताए ।