![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/02/0bfdf7d47fb018533632d0e390da2247.webp?fit=862%2C485)
काठमाण्डौं । सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सूचना निकालेर गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।
फूलसँगै रोगका किरा वा जीवाणु पनि आउने सम्भावना रहेकाले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले बताए । अर्को व्यवस्था नभएसम्म आयात अनुमति पत्र जारी नगर्न सबै कार्यालयलाई पत्रसमेत पठाएको केन्द्रले जनाएको छ ।
काँकडभिट्टा, भण्टावारी, विराटनगर, मलङ्गवा, जलेश्वर, वीरगञ्ज, तातोपानी, एअरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, गड्डाचौकी, लोमान्थाङ र बैतडीमा कार्यालयलाई गुलाबको आयात अनुमति नदिन केन्द्रले पत्र पठाएको हो ।
अहिले गुलाबको आयातका सम्बन्धमा प्राविधिक अध्ययन भइरहेको र केही दिनपछि सर्तसहित खुला गरिने केन्द्रले स्पष्ट पारेको छ ।