images

भ्रष्टाचारले समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा गर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले मुलुक र संविधानप्रतिको अविचल निष्ठा एवं जनताप्रतिको समर्पणबाट मात्र हरेक व्यक्तिमा लैङ्गिकता, इमान्दारी र सदाचारको भावना विकास हुने भन्दै मुलुकको उच्चतम हीत र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रुपमा लिइ कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्युनिकरण हुँदै जाने दाबी गरिन ।

भ्रष्टाचार राज्यबिरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पु¥याउने राष्ट्रपतिको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले सार्वजनिक निकाय र पदाधिकारीले सदाचार पद्धतिको अवलम्वनमा जोड दिनुपर्ने बताइन । उनले जननिर्वाचित तीन तहकै सरकार, राज्यका सबै अंगहरु र निजी क्षेत्र, नागरिक समाज तथा सर्वसाधारण नागरिकको सहयोग र सहकार्यबाट भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति हाँसिल हुनसक्ने बताइन । राष्ट्रपति भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभुतिका लागि सबैले आफ्नो क्षेत्रबाट तत्परता, सक्रियतासाथ काम गर्न आह्वान गरिन ।