images

गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउने विषयमा छलफल गरेका छन् ।

गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने बहालवाला तथा पूर्वसांसद, मन्त्री, विषय विशेषज्ञ, नेपाल सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

फागुन १ गतेदेखि विकास आयोजनाहरूको अनुगमन र निरीक्षणका लागि आफ्नो कार्यकालको पहिलो भ्रमणका क्रममा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जानुअघि भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

छलफलका क्रममा प्रचण्डले विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा पहिलो भ्रमण सुदूरपश्चिमबाटै गर्न लागेको जानकारी दिए ।

आफ्नो पहिलो कार्यकालमा सुदूरपश्चिम विश्वविद्यालयको घोषणा समेत गरेको स्मरण गर्दै उनले गेटा मेडिकल कलेजलाई समेत राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने कुरा आफ्नो लागी गौरबको विषय भएको प्रतिक्रिया दिए ।