images

आज २८औं जनयुद्ध दिवस, बिभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं । आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ ।

शान्ति प्रक्रियापछि माओवादीले पटक–पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो । जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने जनयुद्ध दिवस मनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् ।

सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । दिवका अवसरमा प्रदेश सरकारहरूले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन् ।
यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका छन् ।

जनयुद्धको २८ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्धको जगमा स्थापितअधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताउनुभएको छ ।