images

रास्वपाको अडान : गृह मन्त्रालय नपाएसम्म सरकारमा जाँदैनौ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय कमिटी बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकमा पूर्व सहमति अनुसार गृहमन्त्रालय पाएमा मात्र सरकारमा सामेल हुन सक्नेबारे छलफल भएको थियो । समितिको बैठकले पूर्व सहमतिअनुसार गृह मन्त्रालय पाएमा मात्र सरकारमा जाने निर्णय पनि गरेको छ ।

बैठकपछि बोल्दै पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘थप सहमति नभएकाले सरकारमा जाने बचन दिएका छैनौं । नयाँ सहमति भयो भने सरकारमा जाने हुनसक्छौं ।’

गृह मन्त्रालय नपाएपछि रास्वपा २२ माघमा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन ।

यसैबिच पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ।  बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय पनि गरेको हो ।

१६ जना थपिएसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय बनेको छ। यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए।