images

सरकार समग्र आर्थिक नीतिको पुनरावलोकन गर्ने तयारीमा

काठमाडौं । उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा रहेको बताएका छन् ।

अर्थमन्त्री पौडेलले मुलुकभित्र नै उत्पादन वृद्धि,रोजगारी सिर्जना, राष्ट्रिय आयमा वृद्धि र आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्नको लागि भएपनि समग्र आर्थिक नीतिकै पुनरावलोकन गर्ने पक्षमा रहेको बताएका हुन् । उनले वर्तमान सरकार आर्थिक नीतिको पुनरावलोकन गर्न सम्पूर्ण ध्यान केन्द्रित भएको बताए ।

मन्त्री पौडेलले सरकारले मुलुकको आर्थिक नीति अनुसार आयात प्रतिस्थापन,निर्यात प्रवद्र्धन,रोजगारी सिर्जना,उत्पादन वृद्धि गर्ने भन्दै आएपनि अपेक्षा अनुसार नतिजा आउन नसकेको स्वीकार गरे । उनले विगतमा नेपाल कतिपय वस्तुहरुमा आत्मनिर्भर रहेको भन्दै अहिले ती वस्तुहरुमा पनि परनिर्भरता बढ्दै गएको उल्लेख गरे ।

त्यस्तै अर्थमन्त्री पौडेलले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रमलाई सरकारको कार्यक्रमको रुपमा लिएको बताए । उनले नीतिगत प्राथमिकता र न्युनतम साझा कार्यक्रममा वर्तमान अर्थतन्त्रका समस्या र समाधानको विषयमा समेटिएको बताए ।

अर्थमन्त्री पौडेलले वर्तमान सरकारमा भएका दलहरुको सहकार्य पाँच वर्षका लागि भएको बताए । मन्त्री पौडेलले पाँच वर्षको कार्यक्रममा सरकारले अर्थतन्त्रका चुनौतिहरु पनि सामना गरी अर्थतन्त्रलाई सवल तुल्याएरै छोड्ने दाबी गरे ।