images

देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका नेताहरूसँग बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले यस्तो बताएका हुन । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेट्दै राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र बुझाएको थियो ।

भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । भेटमा प्रधानमन्त्रीले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षकसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुने गरी शान्तिसुरक्षाको व्यवस्था गर्न निर्देशन दिएको बुझिएको छ ।

जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्रीले आफ्नो राजनीतिक जीवन राष्ट्रिय, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दाहरू आफू जनमोर्चासँगै रहेको उल्लेख गरे ।