images

सरकारले संसदलाई बिजनेस नदिँदा हिउँदे अधिवेशन शुन्य

काठमाडौं । सरकारले संसदलाई बिजनेस नदिँदा यस पटकको हिउँदे अधिवेशन शुन्य र विशेष समयमा नै सकिने भएको छ ।

सरकारले बिजनेस नदिँदा संसदले राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदहरुले गरेका छन् । वर्तमान संसद प्राविधिक कुराहरुमा अल्झिँदा संसदीय अन्य गतिविधिहरु हुन नसकेका प्रति अधिकांश सांसद्हरुले गुनासो गरेका छन् ।

संसद सचिवालका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधि सभापछि निष्क्रिय भएका विधेयकहरुलाई पुनः दर्ता गर्नेगरी सरकारले हाल कुनैपनि विधेयक नल्याएको बताए । अघिल्लो प्रतिनिधि सभाको कार्यकाल सकिएपछि २७ वटा विधेयक निष्क्रिय छन् । प्रवक्त गिरीले सरकारले संसद सचिवालयमा दर्ता गरेका विधेयकहरु सचिवालयमा आएर रोकिने अवस्था नरहेको स्पष्ट पारे ।

यता नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले संसदलाई बिजनेस दिन नसकेको गुनासो गरे । सरकारले ससद कहिलेसम्म चल्ने हो भन्ने सुनिश्चितता दिन नसकेकाले सांसदहरुले संसदमा आएका विधेयकहरुमा ध्यान दिन नसकिरहेको बताए ।

सांसद डा. महतले सरकारले संसदलाई बिजनेस दिन नसक्दा संसदीय उपलब्धि धेरै हुन नसकेको बताए । उनले संसदीय समितिहरु अहिलेसम्म पनि बन्न नसक्नुले संसदको गरिमा, औचित्य, जिम्मेवारी पूरा गर्ने काममा समस्या आएको जानकारी दिए ।