images

बागमती प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्दैछ ।

बैठकका लागि कार्यसूची तयार गर्न बुधबार नै बिहान ११ बजे प्रदेश सभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बोलाइएको छ ।

प्रदेश सभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरेपछि धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

बागमती प्रदेश सभा सचिवालयमा दर्ता गरिएका विधेयकमध्ये प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन, सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेका छन् ।