images

सरकारबाट बाहिरियो राप्रपा, समर्थन पनि फिर्ता, मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौं । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

यस्तै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेको लिङ्देनले बताए ।

साथै, प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको लिङ्देनले जानकारी दिए ।

राप्रपाले वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ । हाल देखिएको सत्ता परिवर्तनको यो प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र भएको राप्रपाको ठहर छ ।

त्यस्तै, सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन् । सरकारमा सहभागी संघ र प्रदेशका मन्त्रीले आजै राजीनामा बुझाउने अध्यक्ष लिङ्देनले बताए । उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाउने भएका हुन् ।