images

राष्ट्रपतिमा पौडेलको जित सुनिश्चित : प्रकाश ज्वाला

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भईसकेको दाबी गरेका छन् ।

प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरुको साझा उम्मेदवारको रुपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले पौडेलको जित सुनिश्चित् भईसकेको तर्क समेत गरे ।

शनिबार अपरान्ह राष्ट्रपतिमा रामचन्द्र पौडेलले उम्मेदवारी दिएपछि उनले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

राष्ट्रपतिको निर्वाचनसँगै आठ दल एकतावद्ध भएको उल्लेख गर्दै नेकपा एमाले भने एक्लिएको जिकिर गरे । उनले आठ दलहरुबीचको एकता सत्ता साझेदारी हुँदै राष्ट्र निर्माणको अभियानसम्म जारी रहने बताए ।

प्रमुख सचेतक ज्वालाले राजनीतिक दलहरु जतिधेरै एकतावद्ध भयो, उति मुलुकमा राजनीतिक स्थिरता आउने भएकाले पनि आफूहरु नयाँ शीराबाट अघि बढन थालेको बताए ।