images

आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बिमा गर्ने सरकारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्नेगरी काम शुरु गरेको बताएका छन् ।

सोमवार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो बताएका हुन् ।

उनले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको जिकिर गरे । उनले स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भएपनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरु फर्किंदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताए ।

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तिमा ५ लाख सम्मको स्वास्थ्य बीमा गर्ने तयारी अनुसार काम भइरहेको जानकारी दिए । उनले अहिलेको स्वास्थ्य बीमाभित्र देशभरका मानिसहरु समेटिन नसक्ने भन्दै सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको बताए ।

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको वृत्ति विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने बताए । उनले अस्पतालका सबै सेवाहरु डिजिटलाइट प्रणालीमा लैजाने दाबी गरे ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले ५ जना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।