images

निवर्तमान स्वास्थ्यमन्त्री गिरीको गुनासो : काम गर्ने बेलामा मन्त्रालयबाटै हट्नु पर्‍यो

काठमाडौं । निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नु परेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अव काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट विदा लिनु परेको गिरीको गुनासो थियो ।

स्वास्थ्य पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै निवर्तमानमन्त्री गिरीले यस्तो बताएका छन् ।

निवर्तमानमन्त्री गिरीले स्वास्थ्य विमा कार्यक्रमलाई पुनर्विचार गर्नुपर्ने आवश्यक्ता औल्याए । त्यसका लागि विमितलाई दिने रकम १ लाखबाट बढाएर ५ लाख पुर्‍याउनुपर्ने उनको सुझाव थियो ।

निवर्तमानमन्त्री गिरीले स्वास्थ्य विमा बढाउनका लागि आफूले अर्थमन्त्रीसँग कुरा गरेको र त्यसलाई बढाएर लैजाने योजना आफूले तय गरेको उल्लेख गरे ।