images

दूरसञ्चार सेवालाई समयानुकुल परिवर्तत गर्न आवश्यक छ : सञ्‍चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुण्स्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएकी छिन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानूनी तथा संरचनागत रूपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र बिस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

सञ्चारमन्त्री शर्माले दूरसञ्चार क्षेत्र भित्रका विकृति र विसंगतिलाई हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन् । उनले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धताबारे विस्तृत अध्ययन अनुसन्धान गरी विकट तथा दुर्गम क्षेत्रमा विद्यमान डिजिटल डिभाइटलाई सम्बोधन गर्नुपर्ने बताइन् । उनले प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकासको परिचालन गरी सञ्चालित आयोजनाहरूको नतिजा भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्य योजना बनाएर अघि बढ्न ढिलो गर्न नहुने बताइन् ।

सञ्चारमन्त्री शर्माले सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रका नविनतम प्रविधिहरूको अध्ययन, अनुसन्धान गरी नीतिगत र कानूनी प्रवन्ध गरेर त्यसको लाभ ग्राहक वर्गले लिने त्यसको माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणको गतिलाई अघि बढाउनुपर्ने बताइन् । अहिले धेरै क्षेत्रमा पुराना नीति, कानुनी समस्याका रूपमा रहेकाले समायानुकूल अघि बढ्न दूरसञ्चार लगायत समग्र सूचना प्रविधिको क्षेत्रमा कानुन परिमार्जन तथा नीति निर्माण गर्ने कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

साइबर सुरक्षा, गोपनीयता सुरक्षा र तथ्यांक सुरक्षा कायम गर्न आवश्यक नीतिगत र कानुनी कामलाई सरकारले प्राथमकितामा राखेको सञ्चारमन्त्री शर्माले बताइन् ।