images

ओली भन्छन्- ‘सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोज्यो, ८ दलीय गठबन्धनको गन्तव्य छैन ।’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको भनाई थियो ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै आलीले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दावी गरे ।

अध्यक्ष ओलीले मान्छेनै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए । उनले भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाए ।

नेपालीहरु मारेर भएपनि विदेशीहरुलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाई थियो । उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताए ।