images

आठ दलीय गठबन्धनको संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित

काठमाडौं । आठ दलीय गठबन्धनले फागुन २४ मा राखेको सांसदहरुको भेला स्थगित गरेको छ । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला रोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन आठ दलले बोलाएका थिए ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि लागू गरेको आचारसंहिताको कारण भेला स्थगित गरिएको हो ।

आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ ।

आठ दलीय कार्यदलले गरेको निर्णय अनुसार संघीय प्रदेशका सांसदको छुट्टाछुट्टै अभिमुखिकरण गरिसकेको छ ।

बिहीबार संघीय सांसद र शुक्रबार प्रदेश सांसदलाई शीर्ष तहका नेताहरुले अभिमुखीकरण गरेका छन् । पुरानो गठबन्धन व्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि आफ्ना सांसदहरुलाई अभिमुखीकरण गरिएको थियो ।