images

राष्ट्रपति निर्वाचन : आज मध्यरातिदेखि मौन अवधि सुरु

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरेको छ ।

यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहनेछ । आयोगले निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।

सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको जानकारी दिए ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन ।

मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगको अनुरोध छ ।