images

शान्ति सम्झौता विपरीतका गतिविधिको संयुक्त रुपमा प्रतिवाद गर्ने पूर्व माओवादीको निर्णय

काठमाडौं । माओवादी धारका राजनीतिक दलहरुले शान्ति प्रक्रियाको मर्म र भावना विपरितका गतिविधिहरुको संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका राजनीतिक पार्टीहरुको बैठकले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेको हो ।

उनीहरुले संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे माओवादी धारका पार्टीहरुको ध्यानाकर्षण भएको शान्ति प्रक्रियासँग जोडिएका विषयवस्तुहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गनुपर्छ भन्नेकुरामा एकमत रहेको बताएका छन् ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अघि बढाइनुपर्ने उनीहरुको माग छ । संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका कामकारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पु¥याउँदैन भन्नेकुरामा समेत आफूहरु स्पष्ट रहेको बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बैठकको मुख्य एजेण्डा अहिलेको संक्रमणकालीन न्यायको बारेमा चलिरहेको बहसमा केन्द्रित भएको बताए ।

महासचिवगुरुङले माओवादी आन्दोलनको सम्बन्धमा दीर्घकालीन रुपले कसरी जानसकिन्छ भन्ने विषयमा पनि माओवादी घटकहरुबीच छलफल भएको स्पष्ट पारे ।

बैठकमा माओवादी धारका नेताहरु डा. बाबुराम भट्टराई, सिपी गजुरेल, खड्कबहादुर विश्वकर्मा, धर्मेन्द बास्तोला, विश्वभक्त दुलाल, कर्णजित बुढाथोकी, नारायणप्रसाद धिमाल लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष दाहालविरुद्ध केही दिन अगाडि सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । उक्त निवेदनमा अध्यक्ष दाहाललाई पक्राउ गरी फौजदारी मुद्दामा अनुसन्धान हुनुपर्ने मागदाबी गरिएको छ ।

अध्यक्ष दाहालले एउटा सार्वजनिक कार्यक्रममा नै युद्धकालमा मारिएका १७ हजार नागरिकमध्ये ५ हजारको मृत्युको जिम्मा आफूले लिने बताएको र सोही आधारमा उनीमाथि अनुसन्धान हुनुपर्ने जिकिर रिटमा गरिएको छ ।