
काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
लिगको तेस्रो चरण अन्तर्गत आइतबार एक खेल एन्फा कम्प्लेक्स सातदोबाटो र एक खेल च्यासल मैदानमा हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ आज दोस्रो जितको खोजीमा हुनेछ । मनाङ २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । साविक विजेता मछिन्द्र भने पहिलो जितको खोजीमा रहेको छ । मछिन्द्रले दुई खेलमा अंक जोड्न सकेको छैन । मछिन्द्र १३ औं स्थानमा रहेको छ ।
यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र आर्मीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । एनआरटी पहिलो जित निकाल्ने योजनामा रहेको छ । एनआरटीले २ खेलमा अंक जोड्न सकेको छैन । एनआरटी १२ औं स्थानमा रहेको छ । आर्मी दोस्रो जितको खोजीमा हुनेछ । आर्मीले २ खेलमा ४ अंक जोडेको छ । आर्मी पाँचौं स्थानमा रहेको छ ।