images

’ए’ डिभिजन लिग: चौंथो चरणका खेलहरु आजबाट

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजबाट चौंथो चरणका खेलहरु सुरु हुँदैछन् ।

लिगको चौंथो चरण अन्तर्गत सोमबार दुई खेलहरु हुँदैछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल दशरथ रंगशालामा हुनेछ ।

च्यासलमा हुने खेलमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । हिमालयन आज दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन ३ खेलमा ४ अंक जोडेर नवौं स्थानमा रहेको छ । खुमलटार पनि दोस्रो जितको खोजीमा रहेको छ । खुमलटार ३ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

यस्तै दशरथ रंगशालामा रोयल ब्लु सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र थ्री स्टारबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । सातदोबाटो लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । सातदोबाटो ३ खेलमा ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । थ्री स्टार दोस्रो जितको खोजीमा हुनेछ । थ्री स्टार ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।