images

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

लिगको चौंथो चरण अन्तर्गत मंगलबार तीन खेलहरु हुन लागेको हो । जसमा एक खेल एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

संकटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । संकटा आज दोस्रो जितको खोजीमा हुनेछ । संकटा ३ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

नवप्रवेशी चर्च ब्वाइज लगातार चौंथो जितको खोजीमा हुनेछ । चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यस्तै रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ । जावलाखेल ३ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ३ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । पुछारका दुई टोलीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

साविक विजेता मछिन्द्र पहिलो जितको खोजीमा रहेको छ । मछिन्द्र ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ । पुलिस पहिलो अंकको खोजीमा रहेको छ । तीन खेलमा अंक विहीन पुलिस पुछारमा रहेको छ ।