images

‘ए’ डिभिजन लिग : चर्च ब्वाइज र मछिन्द्रको बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाइज र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरमा गोल निकाल्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेलको ११ मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले प्रहार गरेको बल पोस्ट बारमा लाग्दै बाहिरिएको थियो ।

२७ औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले उपलब्ध गराएको पासमा आशिष चापागाईले पेनाल्टी क्षेत्रबाट बाहिर प्रहार गरे ।

खेलको ३१ औं मिनेटमा मछिन्द्रका उत्सव राईको दोस्रो बार नजिकैबाटको प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसोले जोगाए ।

४० औं मिनेटमा मछिन्द्रका सुजल श्रेष्ठको कर्नरमा देवेन्द्र तामाङको हेडर बल पोस्ट बारमा लाग्दै बाहिरिएको थियो ।

४२ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा समेटियो । चर्च ब्वाइजका जोसेपलाई फउल गरेपछि रेफ्री नविन्द्र महर्जनले पुजनलाई रातो कार्ड देखाएर मैदान बाहिर पठाए ।

५१ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईले उपलब्ध गराएको पासमा अनमार्क रहेका एरिक विष्टको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलको ५५ औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ। मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ।