images

सभामुख घिमिरेले अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने महासंघको चेतावनी

काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको भन्दै आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघले सो अभिव्यक्ति फिर्ता लिन चेतावनी दिएको छ । शनिबार महासंघका महासचिब रोशन पुरीले विज्ञप्ति जारी गर्दै सो अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नवनिर्वाचित सभामुख घिमिरेलाई नेपाल पत्रकार महासंघको टोली शुक्रबार बधाई दिन सिंहदरबार पुगेको थियो । महासंघको टोलीसँग कुरा गर्दै सभामुखले पत्रकार बिक्रीमा रहेको बताएका थिए ।

पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।’

महासंघले नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउँनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ चिन्ता प्रकट गरेको छ ।

यसअघि नेपाल प्रेस युनियनले पनि सभामुखको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको थियो । युनियनका महासचिव दिलिप पौडेलले विज्ञप्ति जारी गर्दै सभामुखले अशोभनीय अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए ।