images

‘ए’ डिभिजन लिगमा आर्मीको दोस्रो जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।

च्यासल मैदानमा शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो ।

खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्स क्लबलाई सुरुआती अग्रता दिलाएका थिए । 

तर, खेलको २४ औं मिनेटमा गिल्स्पे जंग कार्कीले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा दिपक गुरुङले गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए । जितसँगै आर्मीले ५ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्सले ५ खेलमा ४ अंक जोडेको छ।