images

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आइतबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधि सभाको रिक्त एक स्थानको ब्यहोराको जानकारीसहित केही प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

सभामुख देवराज घिमिरेले आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै, प्रतिनिधि सभा सदस्यको १ स्थान रिक्त रहेको बेहोरा पनि सभामुखले जानकारी गराउनेछन् ।

यस्तै, आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक २०७९’ पेस गर्ने कार्यसूची छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गर्ने कार्यसूची छ ।