images

शेयर बजार घटेर राताम्मे, एक अर्ब २० करोड बराबरको कारोबार

काठमाडौं । हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ विन्दुमा झरेको छ । आज दुई सय ६० वटा कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबै समूहको शेयर घटेकोमा व्यापार, बीमा, जलविद्युत्, विकास बैंक, माइक्रोफाइनान्स र उत्पादन तथा प्रशोधन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्तको शेयर साढे नौ प्रतिशतले र कालिका लघुवित्तको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज कालिञ्चोक दर्शन लिमिटेडको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।