images

कोभिड-१९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणका लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबै नागरिकलाई अपिल गरेको हो ।

‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगरौँ, मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड(१९ का लक्षण देखिनेबित्तिकै परीक्षण गराऔँ र आइसोलेसनमा बसौँ ।’

हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड-१९ हुने सक्नेसमेत भएकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी.१.१६ देखा परेको छ । अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमणण बढिरहेको छ ।

मन्त्रालयले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तत्काबाट प्रभावकारी भूमिका निभाउनसमेत आग्रह गरेको छ। कोरोना महामारी अझ पनि पूर्ण रुपमा नियन्त्रणमा आइनसकेकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरेको छ ।

शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले बढिरहेको छ । चैत २० गते मात्रै ७६ जनामा नयाँ संक्रमण र सक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ ।

मन्त्रालयले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेला साबुनपानी वा स्यानिटाइजरले हात सफा गर्नन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले नाकमुख छोप्न र भौतिक दूरी २ मिटर राख्न अनुरोध गरेको छ ।