images

‘ए’ डिभिजन लिग : एनआरटी र चर्च ब्वाइज २-२ गोलको बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।

च्यासल मैदानमा मंगलबार भएको खेलमा एनआरटी र चर्च ब्वाइजले २-२ गोलको बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजले दुई गोलको अग्रता बनाएको थियो । तर, त्यसलाई जोगाउन सकेन । खेलको २० औं मिनेटमा आशिष चौधरीले गोल गर्दा चर्च ब्वाइजले सुरुआती अग्रता बनाएको थियो ।

६२ औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई २-० को अग्रता दिलाए । तर, खेलको ७१ औं मिनेटमा रोशन खड्कीले गोल गर्दै एनआरटीलाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गर्दै एनआरटीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।

यस बराबरीसँगै एनआरटीले ६ खेलमा ३ अंक जोडेको छ । एनआरटी १३ औं स्थानमा रहेको छ । चर्च ब्वाइजले ६ खेलमा १२ अंक जोडेको छ । चर्च ब्वाइज तेस्रो स्थानमा रहेको छ ।