images

आजबाट नयाँ वर्ष २०८० साल शुरु, नेपाल र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ मनाउँदै

काठमाडौं । आजबाट विक्रम सम्वत २०८० सालको पहिलो दिन शुरु भएको छ ।

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन बैशाख १ गतेलाई नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै छ ।

विक्रम संवत् अनुसार वर्ष २०७९ साललाई बिदा गरी वर्ष २०८० साल आजबाट सुरु भएको हो । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन नेपालमा र विदेशमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरि मनाउँने गर्दछन ।

प्रत्येक व्यक्तिले गतवर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न नयाँ वर्षका दिन योजना निर्माण एवं सत्संकल्प गर्ने गर्दछन् ।आजको दिनमा नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

नयाँ वर्षका दिन बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ ।

यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । बंगलादेशमा त वैशाख १ लाईनै नयाँ वर्षको रुपमा मनाउने गरिन्छ ।

सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको मानिन्छ ।