images

शरीरमा सिस्नो लगाएर सुदूरपश्चिममा बिसु पर्व धुमधामका साथ मनाइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज बिसु पर्व धुमधामका साथ मनाइँदैछ ।

नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ ।

यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउने परम्परा छ ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि रोग नलाग्ने जनविश्वास छ । सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताए ।

सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनुपूर्व नै घर रातो माटो र कमेरोेले लिपपोत गर्ने गरिन्छ । नयाँ वर्ष आउनुभन्दा अघि नै घर लिपपोत गरेमा वर्षभरि सुख, शान्ति र समृद्धि आउँछ भन्ने विश्वास रहिआएको छ ।

वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन छ । बिसु मनाउन रोजगारीका लागि अन्यत्र गएकाहरु घर फर्किने गरेका छन् ।

सुदूरपहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन् ।

आयुर्वेदिक उपचारमा पनि सिस्नोको प्रयोगलाई विशेष महत्वका रूपमा लिने गरिन्छ । यस पर्वको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा आज विशेष पूजाआजा तथा मेला लाग्ने गर्दछ ।

आजको दिन इष्टमित्र तथा घरपरिवारका सदस्य मिलेर स्थानीय मौलिक परिकार लौन, सेल, माणा, पुरी, बटुक, डुब्कालगायत परिकार खाँदै बिसु मनाउने गर्दछन् ।