images

सरकारले लोभ र डरमुक्त भई जनताको आकांक्षा सम्बोधन गर्न लागि परेको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोभ र डरमुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन हुने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौंको सुन्दरीजलस्थित विपी संग्राहलयमा आयोजित ‘विपी कोइराला राष्ट्रिय पुरस्कार २०७९’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले विपी कोइरालाबाट प्रेरित भएर कुनै पनि खालका लोभ र डरभुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्ने काममा लागि परेको बताए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किरातीले विपीका विचारलाई आत्मासात गरेर अघि बढन नसक्दा मुलुक पछि परेको हो कि भन्न आफूलाई लाग्ने गरेको बताए । उनले विपीको नेपाली माटोप्रतिको आस्था र विश्वास नेपाल राष्ट्र र नेपाली जनताले सदा स्मरण गरिरहने समेत उल्लेख गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री खड्काले सो संग्राहलय परिसरमा रहेका विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्नुका सार्थ वृक्षारोपण गरेका थिए ।