images

सेफ्टी हेल्मेट र ज्याकेट लगाएर निर्माण व्यवसायीले गरे बालुवाटार घेराउ

काठमाडौं । निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् ।

सोमवार निर्माण व्यवसायीहरुले सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् ।

निर्माण व्यवसायीहरूले बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् ।

आइतबार मात्रै खार्वजनिक खरिद अनुगमन कार्यालयमा घेराउ गरेका थिए । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुका माग सम्बोधन नभएसम्म प्रधानमन्त्री निवास अगाडि आजदेखि निरन्तर धर्ना दिने बताए । लामो समयदेखि निर्माण व्यवसायीहरुलाई परेको समस्या सरकारले गम्भिर रुपमा नलिएको कारण आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले सरकारले निर्माण आयोजनाहरुको प्रत्येक वर्ष म्याद थप गर्ने तर निर्माण आयोजनाहरु नसकिनुको प्रमुख कारण सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिनु भएको उल्लेख गरे ।

अध्यक्ष सिंहले करिव ४ खर्ब बराबरका आयोजनाहरुको म्याद थप हुन लागेको भन्दै अधिकांश योजनाहरुमा बजेट व्यवस्थापन समेत नभएको बताए । सरकारले भुक्तानी गर्न नसक्ने योजनाहरु तत्काल खारेज गर्न निर्माण व्यवसायीहरूले माग गरेका छन् ।