images

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ ।

आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि कार्यक्रम गर्दैछ ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्ट ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले पनि काठमाडौँमा कार्यक्रमको आयोजना गरेको छ ।