images

भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । महाप्रबन्धक तिवारीका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।

आन्तरिकतर्फ काठमाडौँबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन् भने काठमाडौँ–तुम्लिङटारको हवाई उडान रद्द गरिएको विमानस्थलले जनाएको छ । बुद्ध एयरका काठमाडौँ–पोखरा रुटका तीन वटा र बुद्ध एयरकै काठमाडौँ–तुम्लिङटारको एउटा हवाई उडान रद्द भएका छन् ।