images

आँखा पाकेकाले अन्तर्राष्ट्रिय उडान गर्न नपाउने, स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य

काठमाडौं । आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि विमान कम्पनीहरुले अन्तर्राष्ट्रिय उडानमा कडाइ गर्न थालेका छन् ।

हवाई कम्पनीहरुले उडान योग्यताको प्रमाणपत्र खोज्न थालेका हुन् । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सूचना जारी गरेर आँखा पाक्ने रोगसँग सम्बन्धित लक्षण देखिएका यात्रुलाई यात्रा नगर्न आग्रह गरेका छन् ।

निगमका प्रवक्ता रमेश पौडेलले आधिकारिक चिकित्सकीय निकायबाट आँखा पाक्ने रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चित भएको प्रमाणपत्र पेस गरेर मात्रै उडानमा सहभागी गराउन भनिएको जानकारी दिए ।

उनले हवाई उडानपूर्व आफूमा त्यस्तो समस्या देखिएको शङ्का लागेमा वा कुनै लक्षण देखिएमा आँखा परीक्षण गरेर आफू स्वस्थ रहेको यकिन भएपछि मात्रै यात्रामा सहभागी हुन आग्रह गरे । त्यस्तै हिमालय एयरलाइन्सले पनि आँखा पाक्ने रोग नभएको स्पष्ट चिकित्सकीय प्रमाणपत्र लिएर मात्रै हवाई यात्रा गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हवाई आवागमनलाई लक्षित गरेर कुनै आधिकारिक मापदण्डसहितको निर्णय सार्वजनिक गरेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई कम्पनीले आफूखुसी स्वास्थ्य परीक्षण रिपोर्ट खोज्न थालेपछि यात्रुलाई अन्योल र सास्ती हुन नदिन स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको जनाएको छ ।