images

हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन

काठमाडौं । हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो ।

गएको आइतवार उडान भरेका निजी जहाजले सोमवार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो ।

आज बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगञ्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेशन इन्चार्ज गोविन्द लामाले बताउनुभयो ।

बिहान १० बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्स उडान भर्न सफल भएका हुन् । हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ ।

जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएको छ । योसँगै जिल्लामा पसल व्यवसायीको सामग्री, निर्माण सामग्री, खाद्यान्न पनि भित्रिएको छ ।

नेपालगञ्जबाट समिट, सीता र तारा एयरले हुम्लामा उडान भरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो ।

बिहान पानी पर्ने र दिउँसो हावा लाग्ने हुँदा हुम्लामा पाँच दिनसम्म उडान हुन नसकेको हो ।

उडान नभएपछि पाँच दिनअघि टिकट लिएका यात्रु नेपालगञ्ज विमानस्थलमा रोकिनुपरेको थियो ।

उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी हुने भएको छ ।