images

सर्वोच्चले सोमबारदेखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु गर्ने

काठमाडौं । सर्वोच्च अदालतले सोमबारदेखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु गर्ने भएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न सो सिस्टम शुरु गर्न लागेको जानकारी दिए । आईतवार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आवद्ध पत्रकारहरुसँगको सामुहिक भेटमा उनले अदालत भित्र हुने अनियमितता हुनै नदिन आफूले प्रविधिको प्रयोगमा जोड दिएको बताए ।

सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने योजना रहेको उनको भनाइ छ । उनले न्याय सेवामा हुने अनियमितताको न्याय परिषद्बाटै छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने पनि बताए ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले शुरु गरिसकेको भन्दै छिट्टै आउने विश्वास व्यक्त गरे ।

उनले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार संप्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।