images

 कर्मचारीलाई जथाभावी वक्तव्यबाजी नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अपिल

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपु¥याउन तथा सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अपिल गरेको छ ।

शनिबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा गरेको उत्तेजक टिप्पणीपछि जिल्ला प्रशासनले यस्तो अपिलसहितको विज्ञप्ती निकालेको हो ।

नगरप्रमुख शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । श्रीमती चढेको गाडीलाई केरकार गरेको भन्दै आक्रोशित भएका साहले सिंहदरबारमा आगो लगाइदिने भन्दै धम्कीपूर्ण स्टाटस सामाजिक सञ्जालमा राखेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तीमा कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभावी वक्तव्यबाजी नगर्न भनिएको छ । साथै आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्न पनि भनिएको छ ।

प्रशासनले सार्वजनिक विदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत सम्झाएको छ ।