images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको ड्रुक एअरको व्यावसायिक उडान

काठमाडौं । पोखरा विमानस्थलबाट पुनःअन्तर्राष्ट्रिय उडान भएको छ ।

शनिवार बिहान पहिलोपटक भूटानको ड्रुक एअरले व्यावसायिक उडान भरेको हो । भूटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिवार बिहान पौने ७ बजे पोखरा ओर्लिएको ड्रुकले ४२ युरोपेली पर्यटक बोकेर आज बिहान सवा ८ बजे थिम्पु फर्किएको हो ।

भारत, नेपाल र भूटान घुम्ने गरी आएका युरोपेली पर्यटक ड्रुक एअर चार्टर गरी थिम्पु गएका हुन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एअरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरेका थिए ।

पर्यटकलाई स्वागत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चारकर्मीहरुसँग कुरा गर्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापाले भारतसँगको रुटबारे केही समस्या भएकाले छलफल भइरहेको बताए ।

सञ्चारकर्मीसँगको कुराकानीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट बनिसकेपछि पनि सञ्चालन हुने की नहुने भन्ने दोधार भएको भन्दै अब भने पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट उडानका लागि तयार छ भन्ने सन्देश गएको उल्लेख गरे ।

अब नियमित उडान सेप्टेम्बरपछि हुनसक्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी गराएको भन्दै उनले चीन उडानका लागि तयार भएपनि भारतसँग पनि छलफलबाट समस्या समाधान गरे उडान नियमित हुन कठिनाइ नहुने बताएका छन् ।

यसअघि चीनको सिचुवान एअरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो ।