images

पाँच दिनमा दुई हजार बढीमा डेंगु संक्रमण

काठमाडौं । पछिल्लो पाँच दिनमा नेपालमा करिब दुई हजारभन्दा बढीमा डेंगु संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीको पछिल्लो विवरण अनुसार ३ सेप्टेम्बरयता संक्रमितको संख्या २२ हजार ६२७ बाट बढेर २४ हजार ८४२ जना पुगेको थियो । यसअघि अगस्ट ३० सम्म संक्रमितको संख्या २१ हजार २०६ रहेको थियो ।

यसरी हेर्दा पछिल्ला दिनमा डेंगु संक्रमितको संख्या बढेको इडिसिडीको तथ्याङकले देखाएको छ । इडिसिडीको विवरणअनुसार डेंगुकै कारण मृत्यु हुनेको संख्या पनि १४ जना पुगेको छ । इडिसिडीको विवरणअनुसार पछिल्लो समय डेंगु संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

विवरणअनुसार कोशी र बागमती प्रदेशमा संक्रमण तिब्र बढेको देखिएको छ । कोशी प्रदेशमा हालसम्म १९ हजार ५३ जना र बागमती प्रदेशमा ३ हजार ३३४ जना संक्रमित रहेका छन् । यस्तै जिल्ला तहबाट संक्रमणको विवरण हेर्दा हालसम्म झापा, सुनसरी, मोरङ र धादिङमा हालसम्म संक्रमितको संख्या धेरै रहेको छ ।

यी चार जिल्लामा एक हजारभन्दा बढी संक्रमित रहेका छन् । यस्तै सेप्टेम्बर महिना लागेपछि काठमाडौंमा पनि डेंगुका बिरामी बढेको इडीसिडीको विवरणले देखाएको छ । हाल काठमाडौंमा ४ सय ६३ जना संक्रमित रहेका छन् भने ललितपुरमा १८५ र भक्तपुरमा १७२ जना डेंगु संक्रमित रहेका छन् ।