images

दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

काठमाडौं । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ।

आगो बाल्ने भट्टीका केही उपकरण बिग्रिएर उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको थियो।

विग्रिएका उपकरण मर्मत र थप उपकरण जडान गरी उत्पादन थालिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए।

हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले बताए।

उक्त उद्योगमा विद्युत् आपूर्तिका लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक–पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गर्न पत्राचार भइरहेको पनि महाप्रबन्धक कर्णले बताए।

नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको उल्लेख गरिएको छ।

साविक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक दस हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ।

एक अर्ब ५० करोडको लगानीमा स्थापना गरिएको सो उद्योगले अहिले विभिन्न सहरमा दैनिक चार हजारदेखि पाँच हजार बोरासम्म मात्र सिमेन्ट बिक्रीवितरण भइरहेकाले पर्याप्त सिमेन्ट बिक्रीवितरण हुन नसक्दा निकै आर्थिक भार परेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए।