images

काठमाडौँ महानगरले कसरी उठायो लक्ष्य भन्दा बढी राजस्व ? दुई महिनामै उठ्यो एक अर्ब १७ करोड राजस्व

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ ।

गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।

गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा रु २४ करोड बढी राजस्व असुल भएको छ ।

चालु आवका लागि कामपाले रु १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख धुर्व काफ्लेले जानकारी दिए ।

चालु आवको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट रु ५२ करोड राजस्व असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए ।

त्यसैगरी सम्पत्ति करबाट रु २५ करोड असुल भएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभाग प्रमुख काफ्लेको भनाइ छ ।

गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करतादा बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्यरुपमा बढेका छन् । पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् । रासस