images

१० मेगावाटको सोलार परियोजनाको निर्माण अन्तिम चरणमा, एग्रो टुरिजममा पनि काम गर्दै

झापा । कोशी प्रदेश निर्माणाधिन सौर्य ऊर्जा परियोजना मध्येकै ठूलो आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट क्षमताको सौय ऊर्जा परियोजनाको काम करिब ९० प्रतिशत पूरा भएको छ ।

चार वर्षअघि रु ७९ करोड ८० लाखको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यानल जडान हुनेछ ।

२२ बिघा जमिनमा २२ हजार छ सय सोलार प्यानल जडान गरिने उनले जानकारी दिए । परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ । जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ ।

“यो नेपालकै ठूलो परियोजना हो, अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ”, निर्देशक भट्टराईले भने, “अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो । चाँडै सक्छौँ ।” सो परियोजना निर्माणका लागि माछापुच्र्छे बैंकले रु ३५ करोड र सिभिल बैंकले रु २५ करोड गरी रु ६० करोड कर्जा लगानी गरेका छन् । परियोजनामा रु २० करोड शेयरदाताबाट लगानी गरिएको उनको भनाइ छ ।

उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए ।

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताए । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ ।

उनले नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट रु ७।३० का दरले विक्री गर्ने गरी सम्झौता भइसकेको जानकारी दिए । रासस