images

‘भावी पुस्ताहरुको संरक्षण’ भन्ने नारामा विविध कार्यक्रम सहित् बायो-इथिक्स दिवस सम्पन्न

धरान । ‘भावी पुस्ताहरुको संरक्षण’(Protecting future generations) भन्ने नारा सहित विविध कार्यक्रमहरु गरी सन् २०२३ को बायो-इथिक्स दिवस मनाइएको छ ।

वर्तमान मानव जातिले क्रियाकलाप, ब्यवहार, पेशा, निणर्य गर्दा भावीे पिँढिको पनि हित, कल्याणबारे बिचार पुर्‍याउनु पर्ने आवश्यकतातिर झक्झक्याउँदै बायोइथिक्स दिवस अक्टोवर १९ को उपलक्ष्यमा सो कार्यक्रम गरिएको हो ।

बायो-इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुको सहभागिता थियो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर १४ का दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।

नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका शैक्षिक डीन प्रा.डा. शिवेन्द्र झाले शुभकामना तथा बधाई सन्देस दिएका थिए ।

नेपाल एकाइका प्रमुख प्रा.डा. धनरत्न शाक्यको परिचयात्मक र स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम बायोइथिक्स विद्यार्थी संकायका अक्षता वस्ती र क्रिस रौनियारले सञ्चालन गरेका थिए ।

कार्यक्रममा डा. गजेन्द्र बिराजी, प्रतियोगिताका निर्णायकहरुका तर्फबाट बसन्त गेलाल र विद्यार्थी ओमकुमारले आआफ्ना प्रस्तुति राखेका थिए । विद्यार्थी संकायका सल्मान हैदर हुसेन र रिचा कोइरालाले संकायका विविध कार्यक्रम र अनुभवहरुका बारेमा बोले भने यस अवसरमा सम्पन्न विविध प्रतियोगिताहरुका निबन्ध, कविता, चित्रकला पोस्टर, शोध पोष्टर, फोटोहरु र नाटकको पनि प्रस्तुति रहेको थियो ।

कार्यक्रममा यस वर्ष सम्पन्न विविध प्रतियोगिताहरुका परिणामको पनि घोषणा भएको थियो । प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. अशोक ऐर र बसन्त गेलाल निणर्ायक रहेको फोटोग्राफीमा सुरजा शाक्य, आसु झा र डा. शशांक भट्टराई प्रथम, द्वितीय र तृतीय भए । त्यस्तै, प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के, डा. सरुन कोइराला, डा. किशोर गुरुङ र बसन्त गेलाल निर्णायक रहेको आर्ट पोष्टरमा रजनी न्यौपाने, असिम भट्टराई र सुरजा शाक्य; प्रा.डा. रविराम श्रेष्ठ, डा. रविन मास्के र बसन्त गेलाल निर्णायक रहेको अनुसन्धान पोष्टरमा चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाहको टोली र सिद्घार्थ गुप्ता, बालिका दाहाल, नकेन्द्र मल्ल, रिजन मल्लको टोली; प्रा.डा. धनरत्न शाक्य, खेम सुबेदी र डा. रिता खड्का निर्णायक रहेको निबन्धमा डा. सत्यम मण्डल, ओमकुमार र पपुलर पोखरेल तथा प्रा.डा. धनरत्न शाक्य, डा. अशोक ऐर, डा. किशोर गुरुङ र डा. रिता खड्का निर्णायक रहेको कविता प्रतियोगितामा सुयोग झा, बिक्रम राना र पपुलर पोखरेल पुरस्कृत भएका थिए ।

नेपालका तर्फबाट सहभागी प्रा.डा. धनरत्न शाक्यबाट निर्देशित चित्तकला पाण्डे, साहिल रञ्जन, रवि शाह टोलीको अनुसन्धान पोस्टरका लागि नेपाल यस वर्षको अन्तर्राष्ट्रिय प्रतियोगितामा तृतीय भएकोछ ।

कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभागका प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन् गर्ने यस्ता अबसर र कार्यक्रमहरु नियमित र बिस्तारित हुँदै जाने शुभेच्छा राखेका थिए ।

उनले यस वर्षको नाराले वर्तमान पिँढीलाई भावी पुस्ताको लागि पनि साधनश्रोत, स्वास्थ्य, संस्कार, निति, क्षमता र अधिकार सुनिश्चित हुने हिसाबले ब्यवहार गर्न, निणर्य लिन र जीवन जिउन आव्हान गरेको धारणा राखे ।

विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएकोछ ।