images

स्थानीय उत्पादन बाँस र निगालोका सामाग्रीले बजार पाएनन्

कास्की । पोखरा महानगरपालिका– १ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दसैँ मेला लाग्यो । यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो ।

ती सामग्री बेच्ने व्यापारीको मन खुसी थिएन् । उनीहरुमध्ये कसैले बाँस र निगालोको चोयाबाट बनेका घरेलु सामग्री गाउँगाउँ पुगेर खरिद गरेर ल्याएका थिए भने, कसैले आफैले बुनेर पोखरा झारेका थिए ।

ती व्यापारीले साँझसम्म पनि भनेजस्तो व्यापार नभएको गुनासो गरिरहेका थिए । कास्कीको माछापुछ्रे गाउँपालिका–८ खोरामुखबाट डोको, नाङ्लो व्यापार गर्न आएका बुद्धिबहादुर विकले अघिल्ला वर्षमा जस्तो व्यापार नभएको सुनाए ।

“बाँस र निगालोको चोयाबाट बनेका सामग्रीको व्यापार घट्दै गएको छ । पहिलेपहिले यही मेलामा ल्याउनेबित्तिकै सबै बिकीसक्थ्यो अहिले त कोहीकोहीले मात्र लगेका छन्”, उनले भने, “अहिले सामग्री बिक्री हुनै छाड्यो, कुहिएर खेर जाने भयो । यस्तै भयो भने घरखर्च चलाउन गाह्रोपर्ने भयो ।”

बुद्धिबहादुर आफैँले बाँस र निगालोको चोयाबाट डोको, डालो, नाङ्लो, भकारी, कोक्रो, पेरुङ्गो, मान्द्रोलगायत सामग्री बुन्छन् । भनेजस्तो व्यापार नहुँदा जाँगर नचल्ने उनले बताए । “यो काम साह्रै गाह्रो छ । म अहिले ६८ वर्ष भए । सानैदेखि बाँसका सामग्री बुन्न थालेको हुँ”, उनले भने, “पहिले घरमै आएर किनेर लैजान्थे । अहिले त बेच्न हिँड्दा पनि बिक्न गाह्रो भयो । यही भएर काम गर्न जाँगर पनि चल्दैन् ।”

मेलामा यस्तो गुनासो सुनाउने दर्जनौ व्यापारी थिए । सबैको कथा उस्तै थियो ।

चोयाबाट बनेका सामग्रीलाई व्यवसायीकरण गर्न नसकिएको स्थानीय ओमकुमारीले बताइन् ।

यस्ता सामग्रीलाई सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले बजार प्रवद्र्धन र सीप हस्तान्तरण गर्न सहयोग गर्नुपर्ने ओमकुमारीको भनाइ छ ।

“चोयाबाट बन्ने घरेलु सामग्रीको उत्पादन नै घट्दै गएको छ । यो हाम्रो पुर्खौंदेखि चल्दै आएको प्रविधि पनि हो”, उनले भनिन्, “यसलाई जोगाइराख्न सरकारी तथा गैह्रसरकारी सङ्घसंस्थाले बजार प्रवद्र्धन गर्न र सीप हस्तान्तरण गर्न सहयोग गर्नुपर्छ ।” रासस