काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र युएईबीच फाइनल खेल हुँदैछ ।
खेल कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।
डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले युएई र हङकङ दुवैलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।
युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुगेको हो ।
यही कात्तिक १३ देखि काठमाडौंमै सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारी स्वरुप आयोजना गरिएको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फाइनलमा पनि त्यही लय कायम राख्दै उपाधि जितेर छनोटका लागि राम्रो तयारी गर्ने नेपालको योजना छ ।
टी–२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।