काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको फाइनल प्रतियोगिता सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
प्रतियोगितामा घरेलु टोली नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
पहिलो दिन कुल चार खेल हुनेछन् । समूह ए मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरसँग टियू मैदानमा बिहान ९ बजे प्रतिस्पर्धा गर्नेछ ।
समूह एअन्तर्गत नै ओमान र मलेसियाबीचको खेल टीयू मैदानमै दिउँसो सवा १ बजे सुरु हुनेछ ।
यस्तै समूह बीअन्तर्गत यूएई र बहराइनबीचको खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । समूह बी कै हङकङ र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानीमै हुनेछ ।
कात्तिक १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष २/२ टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् ।
नेपालले सन २०१४ पछि टि-२० विश्वकपमा स्थान बनाउन सकेको छैन । नेपालले घरेलु मैदानमा भइरहेको छनोट प्रतियोगिता जित्दै १० वर्षपछि विश्वकप खेल्ने लक्ष्य लिएको छ ।