images

टी-२० विश्वकप छनोट : छक्का/चौका देखि विकेट र डट बलसम्म प्रायोजन गर्दा अर्नाको पौने ७ लाख खर्च

काठमाडौं । ‘आईसीसी मेन्स टी–२० वर्ल्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको सिंगापुरविरुद्धको खेलमा अर्ना बियरले झण्डै ७ लाख रुपैयाँ खर्च गरेको छ ।

कम्पनीले नेपाली खेलाडीले बनाएको हरेक रन, छक्का, चौका, विकेट र डट बलको छुट्टा छुट्टै रकम दिने घोषणा गरे अनुसार सिंगापुरविरुद्धको खेलमा ६ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।

विश्वकप छनौटको आफ्नो पहिलो खेलअन्तर्गत सिंगापुरबाट १४६ रनको विजयी लक्ष्य पाएको नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् । त्यसपछि कप्तान रोहित पौडेलले ९५ हजार रुपैयाँ र बलर अभिनास बोहराले ८४ हजार रुपैयाँ पाउने भएका छन् ।

विश्वकप छनौट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले प्रत्येक विकेटमा २५ हजा र प्रति डटबलमा एक हजार रुपैयाँ दिने घोषणा गरेको छ । त्यस्तै ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार, प्रति चौका १० हजार र प्रति छक्का प्रहारमा २० हजार रुपैयाँ दिने पनि कम्पनीले उद्घोष गरेको छ ।

ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । यसअनुसार ८ चौका प्रहार गर्दा १० हजारका दरले ८० हजार र २ छक्काबाट २० हजारका दरले ४० हजार पाउनेछन् । यस्तै, प्रति रनबाट १ हजारका दरले ७४ हजार रुपैयाँ पाउनेछन् । उनले कूल १ लाख ९४ हजार रुपैयाँ पाउने भएका हुन् ।

यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहितले ९५ हजार रुपैयाँ पाउने छन् । उनले समान २/२ चौका र छक्काको मद्धतमा ३५ रन बनाए । यसबाहेक, २ छक्का र १ चौकाको सहयोगमा २७ रन बनाएका आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले २६ हजार पाउनेछन् । उनले पहिलो बलमै छक्का प्रहार गर्दै ६ रन जोड्दै नेपाललाई २ अंक दिलाएका थिए ।

सिंगापुरविरुद्धको खेलमा अभिनास बोहोराले ३ विकेट लिनुका साथै ९ वटा डटबल फालेपछि ८४ हजार रुपैयाँ पाउने भएका हुन् ।

यसपछि समान दुई/दुई विकेट लिँदै समान १३/१३ डट बल फालेका सन्दीप लामिछाने र गुल्सन झाले समान ६३/६३ हजार रुपैयाँ पाउनेछन् । यसपछि, २ विकेट लिँदै ११ डट बल फालेका करन केसीले ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउनेछन् ।

कम्पनीको उद्घोष अनुसार आज सिंगापुरविरुद्ध बलिङ गरेका सबै बलरले कूल २ लाख ८४ हजार र ब्याट्सम्यानले ३ लाख ९२ हजार रुपैयाँ पाउनेछन् ।